गुगलको जेमिनाईले अब प्रम्प्टकै भरमा म्युजिक तयार पारिदिने
गुगलको जेमिनाईले अब प्रम्प्टकै भरमा म्युजिक तयार पारिदिने
काठमाडौँ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल जेमिनाईमार्फत म्युजिक (संगीत) सिर्जना गर्नसक्ने फिचर सार्वजनिक गरेको छ । गुगल डिपमाइन्डको पछिल्लो म्युजिक मोडेल ‘लिरिया थ्री’ (Lyria 3) प्रयोग गरी प्रयोगकर्ताले अब केवल प्रम्प्टको आधारमा ३० सेकेन्डको म्युजिक ट्रयाक तयार पार्न सक्नेछन् ।
गुगलले यो फिचर हाललाई जेमिनाई एपको बेटा संस्करणमा उपलब्ध गराएको छ । १८ वर्ष पुगेका प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् । हाल अंग्रेजी, हिन्दी, स्पेनिस, फ्रेन्च, जापानी, कोरियन, पोर्चुगिज र जर्मन गरी ८ भाषामा यो सेवा उपलब्ध छ ।
कसरी गर्छ काम ?
कम्पनीका अनुसार प्रयोगकर्ताले आफूले चाहेको संगीतको विधा, मुड वा कुनै विशेष सम्झनालाई शब्दमा वर्णन गरेर संगीत बनाउन सक्नेछन् । त्यसका साथै फोटो वा भिडिओ अपलोड गरेर त्यसबाट इन्सपिरेसन म्युजिक सिर्जना गर्न पनि जेमिनाईलाई निर्देशन दिन सकिन्छ । संगीतका लागि आवश्यक लिरिक्स र कभर आर्ट पनि एआईले नै स्वतः तयार पारिदिने गुगलले जनाएको छ ।
एआईबाट सिर्जना गरिएको सामग्रीको पहिचानका लागि गुगलले यसमा सिन्थ-आईडी (SynthID) नामक अदृश्य वाटरमार्क प्रविधि जडान गरेको छ । यसले उक्त अडियो गुगल एआईबाटै बनेको हो भनी प्रमाणित गर्न मद्दत गर्छ ।
गुगलले यो प्रविधि कुनै पनि स्थापित कलाकारको हुबहु नक्कल गर्न नभई मौलिक अभिव्यक्तिका लागि डिजाइन गरिएको स्पष्ट पारेको छ । यदि प्रयोगकर्ताले कुनै कलाकारको नाम प्रम्प्टमा राखेमा जेमिनाईले उक्त कलाकारको शैली वा मुडबाट प्रेरणा मात्र लिने तर मौलिक धुन सिर्जना गर्ने बताइएको छ । प्रतिलिपि अधिकार उल्लंघन नहोस् भन्नका लागि प्रणालीमा विशेष फिल्टरहरू समेत राखिएको छ ।
लिरिया थ्रीले विगतका मोडेलहरूभन्दा उत्कृष्ट अडियो क्वालिटी, गायन र संगीतको गति (टेम्पो) मा सर्जकलाई थप नियन्त्रण प्रदान गर्ने कम्पनीको दाबी छ । यो फिचर डेस्कटपमा आजैदेखि र मोबाइल एपमा केही दिनभित्रै विश्वभर रोलआउट हुनेछ । गुगल एआई प्लस, प्रो र अल्ट्राका ग्राहकले भने निःशुल्क प्रयोगकर्ताको तुलनामा यसको प्रयोग बढी गर्न पाउनेछन् ।
यो प्रविधि युट्युबको ड्रिम ट्रयाक (Dream Track) मा पनि उपलब्ध हुनेछ, जसले युट्युब शर्ट्स बनाउने क्रिएटरहरूलाई उच्च गुणस्तरको ब्याकग्राउन्ड म्युजिक र गीतहरू सिर्जना गर्न मद्दत गर्नेछ ।
पछिल्लो अध्यावधिक: फागुन ७, २०८२ २३:५२
स्रोतः टेकपाना डट कम