एआई प्रयोगशाला विरुद्ध गणितज्ञहरु एकजुट, बौद्धिक कामलाई नै जोखिममा पारिरहेको आरोप

एआई प्रयोगशाला विरुद्ध गणितज्ञहरु एकजुट, बौद्धिक कामलाई नै जोखिममा पारिरहेको आरोप

काठमाडौं । विश्वका २५ जना अग्रणी गणितज्ञहरूले खुला पत्रमा हस्ताक्षर गर्दै एआई प्रयोगशालाहरूले प्रसिद्ध गणितीय समस्याको समाधानमा एकअर्कालाई उछिन्ने होडमा गणितज्ञहरूको बौद्धिक कामलाई नै जोखिममा पारिरहेको बताएका छन् ।

ओपनएआईले जटिल गणितीय समस्याहरू समाधान गरेको एकपछि अर्को दाबी सार्वजनिक गरेपछि गणितज्ञहरू एकजुट भएका हुन् ।

खुला पत्रमा हस्ताक्षर गर्ने सबै गणितज्ञले गणित क्षेत्रको प्रतिष्ठित पुरस्कार मानिने ‘फिल्ड्स मेडल’ प्राप्त गरिसकेका छन् । उनीहरूले एआई कम्पनीहरू बीच गणितीय समस्या समाधान गर्ने क्षमता प्रदर्शन गर्ने प्रतिस्पर्धाले गणितज्ञहरूको मौलिक बौद्धिक कार्यमा खतरा उत्पन्न गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ओपनएआईले यसै साता न्युयोर्क युनिभर्सिटी (एनवाईयू) का प्राध्यापक ट्रिस्टन बकमास्टरले ओपनएआईमाथि महत्त्वपूर्ण गणितीय समस्या समाधान गर्ने क्रममा एन्थ्रोपिकमा कार्यरत आफ्ना सहकर्मीलाई श्रेय नदिन दबाब दिएको आरोप लगाएका थिए ।

उनले ‘कोडेक्स’ प्रयोग गरी आफूहरूको कामबाट ओपनएआईले आफ्नै ‘ग्राउन्डब्रेकिङ’ प्रमाण तयार पारेको हुन सक्ने आशंकासमेत व्यक्त गरेका छन् । 

यता, बिहीबार ओपनएआईले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक) मा आयोजना हुने एक गणितसम्बन्धी कार्यक्रमको प्रायोजन फिर्ता लिएको छ । विश्वविद्यालयका शोधकर्ताहरूले कम्पनीको आलोचना गरेपछि ओपनएआई उक्त कार्यक्रमको प्रायोजनबाट पछि हटेको हो ।

एआई मोडेलहरूले विश्वका जटिल गणितीय समस्या समाधान गर्न सक्ने क्षमता मानवताका लागि ठुलो उपलब्धि बन्न सक्छ । तर, नयाँ खुला पत्रमा हस्ताक्षर गर्ने गणितज्ञहरूले ती समाधानहरू गणित समुदायले बुझ्न र व्याख्या गर्न सक्ने तथा अन्ततः विश्वका अन्य मानिससम्म पनि पुर्‍याउन सक्ने अवस्था भएमा मात्र त्यसको वास्तविक लाभ मानवताले पाउने बताएका छन् ।

“प्रायः यस्ता समाधानहरू हतारमा सार्वजनिक गरिन्छन् । त्यसैले त्यसको उचित विवरण तयार गर्ने, नयाँ विधि र अवधारणालाई छुट्याएर पहिचान गर्ने तथा यसअघि अरूले गरेका सम्बन्धित कामलाई श्रेय दिने समय नै हुँदैन,” गणितज्ञहरूले पत्रमा लेखेका छन् ।

उनीहरूका अनुसार ओपनएआईले सार्वजनिक गरेको गणितीय प्रमाणसमेत अझै स्वतन्त्र रूपमा प्रमाणीकरण भइसकेको छैन । “अन्य सबै सिर्जनात्मक पेसामा जस्तै यसले श्रेय र साहित्यिक चोरी (प्लेजरिज्म) सम्बन्धी गम्भीर प्रश्न उठाउँछ,” उनीहरूले भनेका छन् ।

“यसबाहेक, गणितको विकास र स्थापित ज्ञानको हिस्सा बनाउन आवश्यक पर्ने इच्छुक गणितज्ञहरू नै नभए एआईले सिर्जना गरेका अवधारणाहरू पूर्ण रूपमा विकसित हुन सक्दैनन् । यसले गणितज्ञहरूबीच ज्ञान र विचार हस्तान्तरण गर्ने महत्वपूर्ण मानवीय शृङ्खला नै हराउने अवस्था सिर्जना गर्न सक्छ,” पत्रमा भनिएको छ ।

अन्य गणितज्ञहरूमा पनि शंका बढ्दै गएको छ । उनीहरूले आफूहरूले कोडेक्स प्रयोग गरेर गरेको काम पनि ओपनएआईका नयाँ मोडेलको प्रशिक्षणमा प्रयोग भयो कि भन्ने आशंका गर्न थालेका छन् । यसले खुला अनुसन्धानको संस्कृतिमाथि नै खतरा उत्पन्न हुने वास्तविक डर पैदा गरेको छ ।

अहिले, अग्रणी एआई प्रयोगशालाहरूले कुनै नयाँ खोजतर्फ उपयोगी बाटो फेला पारे भने, मूल अनुसन्धानकर्ताभन्दा अघि नै त्यसको प्रमाण तयार गर्न लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) प्रयोग गरेर करोडौँ डलर खर्च गर्न सक्छन् । यस्तो प्रतिस्पर्धात्मक प्रवृत्तिले अनुसन्धानका निष्कर्ष र विधि गोप्य राख्न प्रोत्साहन गर्ने जोखिम बढाएको छ ।

यो खुला पत्र गणितज्ञहरूको एउटा कार्यसमूहले जुनमा सार्वजनिक गरेको ‘लाइडेन डिक्लेरेसन’ पछि आएको हो । उक्त घोषणापत्रमा पनि एलएलएमबाट तयार हुने गणितीय प्रमाणले गणितज्ञहरूको काममा पार्न सक्ने प्रभावबारे चर्चा गरिएको छ । साथै, गणितज्ञ, संस्थाहरू र नीतिनिर्माताका लागि विभिन्न सुझावसमेत प्रस्तुत गरिएको छ ।

एआई उपकरणले कार्यप्रवाह परिवर्तन गरिरहेका सफ्टवेयर इन्जिनियरिङलगायतका अन्य क्षेत्रमा जस्तै गणितज्ञहरूले पनि आफ्नो कामको मूल पक्षभन्दा बाहिरको योगदानमा यसको औचित्य देखिरहेका छन् । गणितको मूल्य प्रमाण तयार गर्नु र त्यसको श्रेय कसलाई दिने भन्नेमा मात्र सीमित छैन । विद्यार्थीलाई सिक्न र अघि बढ्न प्रेरित गर्ने, नयाँ प्रश्न तथा अवधारणा खोज्ने र तिनलाई मानव सभ्यताको बृहत्तर ज्ञान संरचनासँग जोड्ने बौद्धिक संरचना पनि गणितको महत्वपूर्ण हिस्सा हो ।

गणितीय प्रमाणको यो उच्चस्तरीय प्रतिस्पर्धा तपाईंका लागि चासोको विषय नहुन सक्छ । तर, एआईले काम गर्ने तरिका परिवर्तन गर्दै जाँदा यही चुनौती भोलि तपाईंको रुचि वा कार्यक्षेत्रमा पनि आइपर्न सक्छ ।

“अहिले गणित समुदायले सामना गरिरहेका समस्या अन्य वैज्ञानिक तथा सिर्जनात्मक पेसाले भोगिरहेका समस्यासँग मिल्दोजुल्दो छन् । यसले अन्ततः सम्पूर्ण मानवताले सामना गर्नुपर्ने सम्भावित चुनौतीतर्फ पनि संकेत गर्छ-एआईले काम गर्ने तरिका परिवर्तन गरिरहेका बेला, हामीले त्यो काम वास्तवमा के हासिल गर्नका लागि गरिएको हो भन्ने मूल उद्देश्यलाई नबिर्सिने सुनिश्चित कसरी गर्ने?” गणितज्ञहरूले लेखेका छन् ।

स्रोतः टेकपाना डटकम

Share this post

Leave your thought here

Your email address will not be published. Required fields are marked *