एप्पलको महँगो फोल्डेबल आईफोन: कस्ता प्रयोगकर्ताका लागि उपयुक्त ?

एप्पलको महँगो फोल्डेबल आईफोन: कस्ता प्रयोगकर्ताका लागि उपयुक्त ?

काठमाडौं । क्यालिफोर्नियाको कुपरटिनोमा गत बुधबार आयोजित कार्यक्रममा एप्पलले नयाँ फोल्डेबल आईफोन (आईफोन डुओ) सार्वजनिक गर्‍यो । प्रभावशाली फिचर सार्वजनिक गरिएको यो फोनको मूल्य पनि प्रिमियम राखिएको छ । अमेरिकी बजारमा यसको सुरुवाती मूल्य १,९९९ अमेरिकी डलर (३ लाख ५ हजार रुपैयाँ) तोकिएको छ । यद्यपि, एप्पलले आयोजना गरेको कार्यक्रममा सहभागी केहीले भने यो फोन महँगो प्रविधि रुचाउने सीमित वर्गबाहेक अन्य प्रयोगकर्ताका लागि कत्तिको आकर्षक होला भन्ने प्रश्न उठाएका छन् ।

कार्यक्रममा एप्पलका अधिकारीहरूले ‘आईफोन डुओ’ को विस्तारित डिस्प्लेमा जुम, स्ल्याक र नेटफ्लिक्सलगायत विभिन्न एप चलाएर देखाएका थिए । कम्पनीले फोनलाई काम, कन्टेन्ट क्रियसन तथा मनोरञ्जनका लागि प्रयोग गर्न सकिने गरी यसको क्षमताहरू प्रस्तुत गरेको थियो ।

एप्पलका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले ‘आईप्याडजस्तै स्वाभाविक र सहज महसुस हुने ठुलो डिस्प्ले’ले आईफोन डुओलाई प्रयोगकर्ताको व्यक्तिगत एआई हबका रूपमा प्रयोग गर्ने सम्भावना खोल्ने बताए ।

क्रिएटिभ स्ट्राटेजिजकी विश्लेषक क्यारोलिना मिलानेसीका अनुसार एप्पलले सामान्यतया आफ्ना उत्पादनका लक्षित खरिदकर्ता को हुन् भन्ने स्पष्ट रूपमा निर्धारण गर्दैन । तर आईफोन डुओको हकमा कम्पनीले लक्षित प्रयोगकर्ताबारे स्पष्ट धारणा प्रस्तुत गर्नबाट झन् पन्छिएको उनको भनाइ छ ।

विश्लेषकहरूका अनुसार एप्पलको ब्रान्डप्रतिको आकर्षणकै कारण आईफोन डुओले सुरुवाती चरणमा राम्रो बिक्री गर्न सक्छ । तर सुरुवाती उत्साह सेलाउँदै गएपछि यसको उच्च मूल्य र लक्षित खरिदकर्ताबारे एप्पलको अस्पष्टताले यो फोन धनी तथा नयाँ प्रविधि अपनाउन अग्रसर सीमित प्रयोगकर्ताको रोजाइमा मात्रै सीमित हुन सक्ने उनीहरूको चेतावनी छ ।

फोल्डेबल फोन बजारमा प्रवेश गरेयता नै यो वर्गका उपकरणले यस्तै सीमित बजारको समस्या झेल्दै आएका छन् ।

आईडीसीको अनुसन्धान अनुसार सन् २०२६ मा फोल्डेबल फोनले विश्वव्यापी स्मार्टफोन बजारको ३ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने अनुमान रहेको रोयटर्सले उल्लेख गरेको छ । एप्पलको प्रवेशपछि पनि सन् २०२७ मा यो हिस्सा उल्लेख्य रूपमा परिवर्तन नहुने आईडीसीको प्रक्षेपण छ ।

काउन्टरप्वाइन्ट रिसर्चका उपाध्यक्ष निल शाहले एप्पलले आईफोन डुओको पोजिसनिङ स्पष्ट रूपमा गर्न नसकेको रोयटर्ससँग बताए । उनका अनुसार यो फोन कामका लागि हो कि मनोरञ्जनका लागि भन्ने स्पष्ट नभए पनि आईफोनको विशेषता भनेकै विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिने बहुउपयोगी उपकरणका रूपमा रहेको छ ।

उद्देश्यबारे प्रश्न

एप्पलले व्यापक मार्केटिङ रणनीति अपनाए पनि अमेरिकामा अधिकतम स्टोरेज विकल्पसहित ३,१९९ डलर  (४ लाख ८८ हजार रुपैयाँ) पर्ने फोनका लागि कम्पनीले कुन वर्गका प्रयोगकर्तालाई लक्षित गरेको हो भन्ने स्पष्ट पारेको छैन ।

सन् २०१० मा एप्पलका सहसंस्थापक स्टिभ जब्सले आईप्याड सार्वजनिक गर्दा त्यसलाई नयाँ श्रेणीको उपकरणका रूपमा प्रस्तुत गरेका थिए । उनले आईप्याडलाई मिडिया तथा मनोरञ्जन सामग्री उपभोगका लागि थप क्षमतायुक्त उपकरणका रूपमा व्याख्या गरेका थिए ।

सन् २०१५ सम्म आइपुग्दा तत्कालीन एप्पल सीईओ टिम कुकले आईप्याडको नयाँ ‘प्रो’ सिरिजलाई सिर्जनात्मक क्षेत्रमा काम गर्ने पेशेवरका लागि लक्षित उपकरणका रूपमा प्रस्तुत गरेका थिए । एप्पलले सुरुवातमा फेसन उत्पादनका रूपमा प्रवर्द्धन गरेको एप्पल वाच पनि पछि स्वास्थ्य तथा फिटनेसका लागि अत्यावश्यक उपकरणका रूपमा विकसित भयो ।

तर सन् २०२३ मा एप्पलको अग्मेन्टेड रियालिटी हेडसेट ‘भिजन प्रो’ को सुरुवात अपेक्षाअनुसार हुन सकेन । विश्लेषकहरूले यसको प्रविधिको प्रशंसा गरे पनि उच्च मूल्य र मनोरञ्जनबाहेक यसको स्पष्ट प्रयोग पहिचान गर्न नसकिएको भन्दै शंका व्यक्त गरेका थिए ।

रोकिएको माग

काउन्टरप्वाइन्टका शाहले एप्पलले आईफोन डुओको करिब ६० लाख युनिट वर्षको अन्त्यसम्म बिक्री गर्न सक्ने अनुमान गरेका छन् । उनका अनुसार विद्यमान आईफोन प्रयोगकर्तामाझ रहेको लामो समयदेखिको मागले यसको बिक्रीलाई बल पुर्‍याउनेछ । यति बिक्री भएमा मात्रै पनि विश्वव्यापी फोल्डेबल फोन बजारमा एप्पलको हिस्सा करिब एक चौथाइ पुग्ने शाहको भनाइ छ ।

फोल्डेबल फोन बजारको अग्रणी कम्पनी सामसङले सन् २०१९ देखि यस्ता फोन बिक्री गर्दै आएको छ । अल्फाबेटको गुगल र चीनको ह्वावेलगायत कम्पनीका फोल्डेबल फोन पनि बजारमा उपलब्ध छन् ।

सामसङले बजारमा प्रवेश गर्दा ‘फोल्डगेट’ भनेर चर्चित समस्याको सामना गर्नुपरेको थियो । त्यतिबेला फोनका स्क्रिन फुट्ने तथा विभिन्न पार्टपुर्जा छुट्टिने समस्या व्यापक रूपमा रिपोर्ट भएका थिए । तर काउन्टरप्वाइन्टको तथ्यांकअनुसार अहिले सामसङको फोल्डेबल फोन बजारमा ४० प्रतिशत हिस्सा छ । कम्पनीले गत जुलाईमा नयाँ डिजाइनसहितको ‘पासपोर्ट’ शैलीको फोल्डेबल फोन पनि सार्वजनिक गरेको थियो ।

नयाँ फोनले अघिल्ला पुस्ताका उपकरणभन्दा राम्रो प्रदर्शन गरेको छ । आईफोन डुओलाई लक्षित गर्दै सामसङले सुरु गरेको प्रचार अभियानले पनि एप्पलमाथि व्यंग्य गर्दै उसलाई ‘हाम्रो बासी खाना फेरि तताएको’ आरोप लगाएको थियो ।

यद्यपि, फोल्डेबल फोनले सीमित प्रयोगकर्ताभन्दा बाहिर आफ्नो बजार विस्तार गर्न नसक्दा पछिल्ला वर्षमा यो बजारको वृद्धि सुस्त भएको छ ।

प्रविधि अनुसन्धान संस्था ओम्डियाका अनुसार एप्पलको प्रवेशले सन् २०२१ यताकै फोल्डेबल स्मार्टफोन बिक्रीमा सबैभन्दा ठुलो वार्षिक वृद्धि ल्याउने अपेक्षा गरिएको छ । ओम्डियाले सन् २०२६ मा विश्वभर २ करोड २३ लाख फोल्डेबल फोन बिक्री हुने अनुमान गरेको छ ।

टेक्नालिसिस रिसर्चका प्रमुख विश्लेषक बब ओ’डोनेलका अनुसार आईफोन डुओको उच्च मूल्यले विशेषगरी युवा वर्गमा यसको सम्भावित ग्राहक संख्या सीमित गर्नेछ । यद्यपि, एप्पलप्रति अत्यन्तै वफादार प्रयोगकर्ताले सुरुवाती बिक्रीलाई बल पुर्‍याउने उनको भनाइ छ ।

‘केही समयसम्म यसलाई मानिसहरूले निकै चाहने उत्पादनका रूपमा हेर्नेछन्,’ उनले भने । ‘यो केही समयका लागि प्रतिष्ठाको प्रतीक बन्नेछ, किनकि यसलाई पाउन कठिन हुने देखिन्छ ।’

 – रोयटर्स

स्रोतः टेकपाना डटकम

Share this post

Leave your thought here

Your email address will not be published. Required fields are marked *