काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहितको नयाँ रेड्मी नोट १७ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सिरिजअन्तर्गत रेड्मी नोट १७, रेड्मी नोट १७ फाइभजी, रेड्मी नोट १७ प्रो फाइभजी र रेड्मी नोट १७ प्रो म्याक्स फाइभजी गरी चारवटा स्मार्टफोन मोडेल भित्र्याएको हो ।
लामो समयसम्म टिक्ने ब्याट्रीका कारण प्रयोगकर्ताले बारम्बार चार्जर बोक्नुपर्ने झन्झट घट्ने दाबी कम्पनीले गरेको छ । रेड्मी नोट १७ सिरिजको मुख्य आकर्षण यसमा प्रयोग गरिएको विशाल ब्याट्री क्षमता र फास्ट चार्जिङ सुविधा हो । सिरिजको सुरुवाती मोडेल रेड्मी नोट १७ र नोट १७ फाइभजीमा ४५ वाट टर्बो चार्जिङ सपोर्टसहित ७,७०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । त्यसैगरी, रेड्मी नोट १७ प्रो फाइभजीमा ६७ वाट हाइपरचार्ज प्रविधिसहित ८,३४० एमएएचको ब्याट्री समावेश छ ।
सिरिजको सबैभन्दा प्रिमियम मोडेल रेड्मी नोट १७ प्रो म्याक्स फाइभजीमा भने १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधासहित १०,००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ । कम्पनीका अनुसार यो १०,००० एमएएचको ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ । साथै, केवल २० मिनेट चार्ज गर्दा एक दिनभर प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने दाबी कम्पनीले गरेको छ । यस सिरिजमा ब्याट्रीको आयु बढाउन र ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘रेड्मी टाइटन ब्याट्री सिस्टम’ प्रयोग गरिएको छ ।
डिस्प्ले र क्यामेरा
यस सिरिजका प्रो मोडेल (रेड्मी नोट १७ प्रो फाइभजी र प्रो म्याक्स फाइभजी) मा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले छ । जसले १२० हर्ज रिफ्रेश रेट र अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस सपोर्ट गर्छ । अर्कोतर्फ, रेड्मी नोट १७ र नोट १७ फाइभजीमा ६.९९ इन्चको एफएचडी प्लस एमोलेड डिस्प्ले दिइएको छ ।
क्यामेराको कुरा गर्नुपर्दा रेड्मी नोट १७ र नोट १७ फाइभजीमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । रेड्मी नोट १७ प्रो फाइभजीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । त्यसैगरी, शीर्ष मोडेल रेड्मी नोट १७ प्रो म्याक्स फाइभजीमा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा-वाइड र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ ।
बनावट, सुरक्षा र पर्फर्मेन्स
प्रो मोडेलहरूलाई टिकाउ र मजबुत बनाउन ‘रेड्मी टाइटन स्ट्रक्चर’मा निर्माण गरिएको छ । धूलो र पानीबाट सुरक्षाका लागि प्रो मोडेलहरूमा आईपी-६६, आईपी-६८, आईपी-६९ र आईपी-६९-के लेभलको वाटर एन्ड डस्ट रेसिस्टन्स रेटिङ उपलब्ध छ । रेड्मी नोट १७ र नोट १७ फाइभजीमा भने आईपी-६५ लेभलको सुरक्षा पाउन सकिन्छ ।
कार्यक्षमताका लागि सिरिजका विभिन्न मोडेलहरूमा आवश्यकताअनुसार स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६-एस जेन ४, स्न्यापड्रागन ६-एस फोरजी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेटहरू राखिएका छन् ।
रङ, मूल्य र भेरियन्ट
नेपाली बजारमा उपलब्ध रेड्मी नोट १७ र नोट १७ फाइभजी सेलेस्टियल पर्पल, स्काई टिल र ब्ल्याक रङमा उपलब्ध छन् । रेड्मी नोट १७ प्रो फाइभजी भने स्काई ब्लु, साटिन अरेन्ज, पर्पल र ब्ल्याक गरी चार रङमा पाइनेछ । प्रो म्याक्स फाइभजी मोडेल क्लाउड ब्लश, ग्रिन, पर्पल र ब्ल्याक रङमा भित्रिएको छ ।
नेपालका लागि कम्पनीले तय गरेको आधिकारिक मूल्यसूची यसप्रकार छ:
- रेड्मी नोट १७ (६ जीबी + १२८ जीबी): रु. ४२,९९९
- रेड्मी नोट १७ (८ जीबी + २५६ जीबी): रु. ४७,९९९
- रेड्मी नोट १७ फाइभजी (६ जीबी + १२८ जीबी): रु. ४७,९९९
- रेड्मी नोट १७ फाइभजी (८ जीबी + २५६ जीबी): रु. ५२,९९९
- रेड्मी नोट १७ प्रो फाइभजी (८ जीबी + २५६ जीबी): रु. ५७,९९९
- रेड्मी नोट १७ प्रो फाइभजी (१२ जीबी + ५१२ जीबी): रु. ६४,९९९
- रेड्मी नोट १७ प्रो म्याक्स फाइभजी (८ जीबी + २५६ जीबी): रु. ६९,९९९
- रेड्मी नोट १७ प्रो म्याक्स फाइभजी (१२ जीबी + ५१२ जीबी): रु. ७९,९९९
विशेष अफर र ईएमआई सुविधा
नयाँ फोन सार्वजनिक भएको अवसरमा कम्पनीले विशेष अफरसमेत ल्याएको छ । जसअन्तर्गत रेड्मी नोट १७ प्रो सिरिज (प्रो फाइभजी र प्रो म्याक्स फाइभजी) खरिद गर्ने ग्राहकले २,४९९ मूल्य पर्ने रेड्मी बड्स ६ प्ले नि:शुल्क प्राप्त गर्नेछन् । यो अफर फोन सार्वजनिक भएको मितिदेखि यही सेप्टेम्बरको अन्त्यसम्मका लागि लागु हुने उल्लेख छ ।
यसैगरी, ग्राहकहरूले नेपालभरका आधिकारिक विक्रेतामार्फत नागरिकता देखाएर आवश्यक डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि यी फोनहरू खरिद गर्न सक्नेछन् ।
स्रोतः टेकपाना डटकम
