हामी एआईसँग कत्तिको डराउनुपर्छ ? सिलिकन भ्यालीको रहस्यमयी विचारधारा र यसको वास्तविकता

हामी एआईसँग कत्तिको डराउनुपर्छ ? सिलिकन भ्यालीको रहस्यमयी विचारधारा र यसको वास्तविकता

अहिले सिलिकन भ्यालीका टेक एलिट (प्रविधिका सभ्रान्त वर्ग) एआई क्रान्तिबाट अर्बौं डलर कमाउने तीव्र तयारीमा व्यस्त रहँदा, यो प्रविधिलाई लिएर आम मानिसको दृष्टिकोण भने निकै निराशाजनक र भयभीत बन्दै गएको छ । गत जुलाईमा ओपनएआईका केही प्रयोगात्मक मोडेलहरूले आफैं स्वचालित रूपमा एउटा थर्ड-पार्टी कम्पनीको सर्भर ह्याक गरेपछि यस्तो चिन्ता झन् चुलियो, जसले संसारभर नै ठुलो तरङ्ग ल्यायो । यसै साता अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले यही निराशाजनक वातावरणलाई मध्यनजर गर्दै सबै प्रकारका ‘एड्भान्स एआई विकास’ मा तत्कालका लागि रोक लगाउन माग गरे ।

यस्तो त्रास फैलाउन एआई क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) जस्तै ओपनएआईका साम अल्टम्यान र एन्थ्रोपिकका डारियो अमोडेको अभिव्यक्तिले पनि ठुलो भूमिका खेलेको छ । आफ्ना प्रयोगकर्ता र ग्राहकहरूलाई आश्वस्त पार्नुको सट्टा उनीहरू आफैं आफ्ना कम्पनीहरूले सिर्जना गरिरहेका ठुला खतराहरूबारे औंल्याउन हतारिन्छन् । आफ्नै उत्पादनहरूसँग जोडिएका गम्भीर घटनाहरू सार्वजनिक हुँदा उनीहरू यसरी प्रस्तुत हुन्छन्, मानौं उनीहरू कुनै बाहिरी दर्शक हुन् र यो प्रविधि रोक्नै नसकिने प्राकृतिक शक्तिको रूपमा आएको हो । गत बुधबार अल्टम्यानले आफ्नो आगामी पुस्ताको मोडेलले ‘सबैलाई गम्भीर र सचेत बनाउनेछ’ भन्दै निराशाजनक शैलीमा चेतावनी दिएका थिए ।

आखिर यी प्रविधि कम्पनीका नेतृत्वकर्ताहरू किन यसरी प्रस्तुत भइरहेका छन् ? कसैको बुझाइमा यो सबै व्यापार बढाउने एउटा चलाखीपूर्ण बजारीकरण (मार्केटिङ) रणनीति मात्र हो । कतिपयले चाहिँ यसलाई एउटा भयानक प्रविधिप्रति देखाएको स्वाभाविक मानवीय प्रतिक्रिया मान्छन् । तर मैले यी पात्रहरूलाई जति गहिराइबाट नियालेको छु, मलाई के लाग्न थालेको छ भने यस उदासीनता र त्रासको पछाडि अर्कै रहस्य छ: यी व्यक्तिहरू हामीले सोचेभन्दा धेरै फरक र अलि अनौठा छन् ।

यो कथा सन् १९९० को दशकको मध्यतिरबाट सुरु हुन्छ । त्यतिबेला एलिइजर युडकोभस्की नामका एक तीक्ष्ण बुद्धिका किशोरले ‘एक्स्ट्राेपियन्स’ (Extropians) भनिने भविष्यवादी आन्दोलनको ईमेल सूची फेला पारे । यस समूहले प्रविधिको बलमा एउटा यस्तो आदर्श संसार (युटोपिया) को कल्पना गर्थ्यो, जहाँ मानिसले आफ्नो बुढ्यौली हुँदै गएको शरीरलाई नानोमसिनको मद्दतले पुनः स्वस्थ बनाउन सक्छ र आफ्नो मस्तिष्कको डेटालाई शक्तिशाली कम्प्युटरमा ब्याकअप गरेर राख्न सक्छ ।

युडकोभस्की एक्स्ट्राेपियन्सको यो चरम आशावाद र सुपरइन्टेलिजेन्ट (अति-बौद्धिक) एआईले भविष्यलाई स्वर्ण युगमा परिणत गर्नेछ भन्ने विचारप्रति निकै आकर्षित भए । विज्ञान पत्रकार एडम बेकरले आफ्नो गहन पुस्तक ‘मोर एभ्रिथिङ फरएभर’ मा उल्लेख गरे अनुसार, एआई सञ्चालित सिङ्गुलारिटी (Singularity) बाट मानवताका सबै समस्याहरू हल गर्ने सम्भावनाले युडकोभस्कीको सोचलाई पुरै परिवर्तन गरिदियो । उनले कुनै समय अनलाइनमा लेखेका थिए, “मलाई लाग्छ म यो संसार बचाउन सक्छु ।”

यद्यपि, आफ्नो यो तीव्र उत्साहका बाबजुद युडकोभस्कीलाई बिस्तारै एउटा नयाँ कुराले सताउन थाल्यो । उनले सोचे कि एक्स्ट्राेपियन्स जस्ता प्रविधि-आशावादी समूहहरूले सोचे जस्तो अति-बौद्धिक मसिनहरूलाई नियन्त्रणमा राख्न सजिलो हुनेछैन । आफ्ना समकालीन साथीहरूले यस विषयमा पर्याप्त स्पष्ट र गम्भीर रूपमा सोचिरहेका छैनन् भन्ने निष्कर्षमा उनी पुगे । त्यसपछि सन् २००६ देखि २००९ को बीचमा उनी अनवरत रूपमा लेखनमा सक्रिय भए । उनले ‘ओभरकमिङ बायस’ (Overcoming Bias) र ‘लेसरोङ’ (LessWrong) ब्लगहरूमा लाखौं शब्दका लेखहरू लेखे ।

यी लेखहरूलाई पछि ‘द सिक्वेन्सेज’ (The Sequences) भनियो र यसलाई सम्पादन गरेर छ-खण्डको पुस्तक ‘र्‍यासनालिटी: फ्रम एआई टु जोम्बिज” को रूपमा प्रकाशन गरियो । यी विचारहरूमा विश्वास गर्ने समुदायले आफूलाई ‘र्‍यनसनालिस्ट’ (बुद्धिवादी/तर्कवादी) भन्न थाले । उनीहरूको मुख्य विश्वास के थियो भने नियन्त्रण बाहिर जाने अति-बौद्धिक एआई नै मानव सभ्यताका लागि सबैभन्दा ठुलो खतरा हो । यस महाविपत्तिबाट बच्ने एक मात्र उपाय भनेको सटीक र तर्कसङ्गत सोच्ने बानीको विकास गर्नु हो ।

सिलिकन भ्यालीका युवा इन्जिनियरहरूका लागि यो विचारधारा निकै आकर्षक साबित भयो । यो स्वाभाविक पनि थियो, किनकि यस विचारधाराले ती युवा इन्जिनियरहरूलाई मानवताको वास्तविक उद्धारकर्ताका रूपमा प्रस्तुत गर्थ्यो । कलेजको अन्तिम वर्षमा रहँदा ‘लेसरोङ’ ब्लग पढ्न थालेका पूर्व र्‍यासनालिस्ट क्वियाओचु युआनले लेखेका छन्, “मैले कलेजको अन्तिम वर्षमा लेसरोङ पढ्न थाल्दा म एउटा रित्तो भाँडो जस्तो थिएँ, जुन कुनै नयाँ कुराले भरिन पर्खिरहेको थियो । एलिइजर युडकोभस्कीका कुराहरूले मलाई यति धेरै प्रभावित बनाए कि मैले जीवनमा त्यस्तो अनुभव कहिल्यै पाएको थिइनँ ।”

केही र्‍यासनालिस्टहरू बे एरिया (सिलिकन भ्याली क्षेत्र) मा सामूहिक रूपमा एउटै घरमा बस्न थाले । त्यहाँ उनीहरू एआई सुरक्षा र मस्तिष्कको सोच्ने शैलीमा हुने त्रुटिहरू (कग्निटिभ बायस) कसरी घटाउने भन्ने विषयमा गम्भीर छलफल गर्थे । यसका साथै उनीहरूको जीवनशैलीमा बहु-प्रेम (पोलिआमोरी) र मतिभ्रम गराउने ड्रग्स (साइकेडेलिक्स) को प्रयोग पनि मिसिएको हुन्थ्यो । यो आन्दोलन निरन्तर फैलियो र यसले ‘इफेक्टिभ अल्ट्रुइजम’ (प्रभावकारी परोपकारिता वा इ.ए.) जस्ता दर्शनहरूलाई पनि प्रभावित पार्न थाल्यो । इ.ए. आन्दोलनले सुरुमा सामाजिक दान वा सहयोगलाई कसरी बढी प्रभावकारी बनाउने भन्नेमा जोड दिन्थ्यो, तर बिस्तारै यसको ध्यान अति-बौद्धिक एआईबाट हुन सक्ने मानव अस्तित्वकै अन्त्य जस्ता जोखिमहरूसँग लड्ने दिशामा मोडियो ।

युडकोभस्कीले ‘मसिन इन्टेलिजेन्स रिसर्च इन्स्टिच्युट’ (MIRI) स्थापना गरे । यस संस्थाले प्रविधि उद्योगका धनाढ्यहरू र संस्थाहरूबाट लाखौं डलर सहयोग प्राप्त गर्‍यो । प्रविधि उद्योगका यी मानिसहरूलाई आफू कुनै ब्रह्माण्डीय नाटकको नायक बनेर संसार बचाउँदैछु भन्ने सोच्न मन पर्थ्यो, त्यसैले उनीहरूले उदारतापूर्वक दान दिए ।

गत वर्ष युडकोभस्कीले अति-बौद्धिक एआईबारे आफ्नो यो अति-तर्कवादी विचारलाई सर्वसाधारणमाझ पुर्‍याउने प्रयास गरे । यसका लागि उनले मिरी (MIRI) का अध्यक्ष नेेट सोआरेससँग मिलेर ‘इफ एनिवन बिल्ड्स इट, एभ्रिवान डाइज” (यदि कसैले यो बनायो भने, सबै मर्नेछन्) नामक पुस्तक लेखे । यद्यपि यो पुस्तकले निकै चर्चा पायो, तर युडकोभस्कीको अनौठो लेखनशैली, अस्पष्ट तर्क र अनावश्यक घुमाउरोपनका कारण धेरैले यसलाई रुचाएनन् । स्टिफन मार्चेले यस पुस्तकको समीक्षा गर्दै लेखेका थिए कि यसको अनौठो संरचना, काम नलाग्ने उदाहरणहरू र थप जानकारीका लागि स्क्यान गर्नुपर्ने क्यूआर कोडहरूले गर्दा यो कुनै ‘साइन्टोलोजी’ (एक प्रकारको विवादास्पद सम्प्रदाय) को म्यानुअल जस्तो देखिन्थ्यो । यसैले गर्दा यो आन्दोलनले आम सर्वसाधारणको व्यापक समर्थन पाउन सकेन ।

यदि र्‍यासनालिजमको यो कथा एलिइजर युडकोभस्कीको लोकप्रियता कमाउने असफल प्रयाससँगै सकिएको भए, यसलाई सिलिकन भ्यालीको इतिहासमा एउटा सानो र अनौठो भविष्यवादी समूहको रूपमा मात्र लिइने थियो । तर युडकोभस्कीको आन्दोलनलाई त्यत्तिकै खारेज गर्न सकिँदैन । उनले आकर्षित गर्न सकेका थोरै अनुयायीहरूमध्ये कतिपय आजको एआई क्रान्तिका सबैभन्दा शक्तिशाली र प्रभावकारी व्यक्तित्वहरू हुन् ।

उदाहरणका लागि, युडकोभस्कीले नै गुगलको डिपमाइन्डका दुई सह-संस्थापक डेमिस हासाबिस र शेन लेगलाई पिटर थिलसँग भेटाएका थिए, जो पछि यो कम्पनीका पहिलो ठुला लगानीकर्ता बने । शेन लेग युडकोभस्कीको एउटा प्रवचन सुनेपछि र्‍यासनालिस्ट विचारप्रति आकर्षित भएका थिए र पछि उनले अति-बौद्धिकता (सुपरइन्टेलिजेन्स) कै विषयमा आफ्नो विद्यावारिधि (पीएचडी) को शोधपत्र समेत लेखेका थिए ।

र्‍यासनालिजमको यो प्रभाव ओपनएआईभित्र पनि गहिरोसँग फैलिएको थियो । साम अल्टम्यानले सन् २०२३ मा एउटा ट्वीट गर्दै लेखेका थिए, “मेरो विचारमा एलिइजरले एजीआई (आर्टिफिसियल जनरल इन्टेलिजेन्स) को विकासलाई तीव्र बनाउन अरू कसैले भन्दा बढी काम गरेका छन् ।” उनले त युडकोभस्कीलाई एआईमा पुर्‍याएको योगदानका लागि नोबेल शान्ति पुरस्कार नै दिनुपर्ने सुझाव समेत दिएका थिए । ओपनएआईका अर्का सह-संस्थापक तथा वर्तमान अध्यक्ष ग्रेग ब्रकम्यानले युडकोभस्कीको ‘लेसरोङ’ फोरमका लेखहरू पढ्नका लागि हरेक साता एउटा विशेष अध्ययन समूह नै चलाउने गर्थे ।

ओपनएआईको सञ्चालक समिति (बोर्ड) का अन्य सदस्यहरू पनि यही विचारधाराबाट प्रभावित देखिन्थे । प्रविधि पत्रकार केड मेट्जले सन् २०२३ मा साम अल्टम्यानलाई ओपनएआईको सीईओ पदबाट अस्थायी रूपमा हटाइएको घटनालाई यसरी व्याख्या गरेका छन्- “र्‍यासनालिस्ट र इ.ए. (प्रभावकारी परोपकारिता) आन्दोलनसँग जोडिएका बोर्ड सदस्यहरूले अल्टम्यानले मानवताको हितका लागि एआई बनाउनेछन् भन्ने कुरामा विश्वास गर्न सकेनन् ।” अल्टम्यानलाई हटाएर बोर्डले अन्तरिम सीईओ बनाएका इमेट सियर त अनलाइन र्‍यासनालिजम संस्कृतिमा यति धेरै सक्रिय थिए कि युडकोभस्कीले आफ्नो प्रसिद्ध ६ लाख शब्दको काल्पनिक उपन्यास ‘ह्यारी पोर्टर एन्ड द मेथड्स अफ र्‍यासनालिटी’ मा एउटा पात्रको नाम नै उनीमाथि राखिदिएका थिए ।

अर्को चर्चित एआई कम्पनी एन्थ्रोपिक पनि यसै विचार पद्धतिसँग जोडिएको छ । यो कम्पनी सन् २०२१ मा ओपनएआईका पूर्व कर्मचारीहरू डारियो अमोडे र उनकी बहिनी डानिएला अमोडे मिलेर स्थापना गरेका थिए । पत्रकार एडम बेकरका अनुसार, ओपनएआईले एआईलाई मानव नियन्त्रणभित्र राख्ने ‘अलाइनमेन्ट’ को समस्यालाई गम्भीरतापूर्वक लिएन भन्ने चिन्ताले अमोडे दिदीभाइलाई नयाँ कम्पनी खोल्न प्रेरित गरेको थियो । यो ‘अलाइनमेन्ट’ समस्या र्‍यासनालिस्टहरूको पुरानो र मुख्य चिन्ताको विषय हो । सन् २०२३ को एउटा अन्तर्वार्तामा डारियो अमोडेले र्‍यासनालिस्ट शैलीमै एआईले मानव सभ्यतालाई नै समाप्त पार्ने सम्भावना १० देखि २५ प्रतिशतसम्म रहेको सहजै बताएका थिए ।

यसरी आजका ठुला एआई कम्पनीहरूमा र्‍यासनालिजमको गहिरो प्रभाव रहेको कुरा बुझेपछि मात्र हामीले उनीहरूका नेतृत्वकर्ताहरूबाट सुन्ने गरेका भयानक र चिन्ताजनक अभिव्यक्तिहरूको वास्तविक अर्थ बुझ्न सक्छौं । जब अल्टम्यानले आउन लागेका एआई मोडेलहरू मानवताका लागि ‘गम्भीर र सचेत गराउने खालका’ हुनेछन् भन्छन्, वा जब अमोडेले यो प्रविधिले ‘हामी मानव प्रजातिका रूपमा को हौं भन्ने कुराको परीक्षा लिनेछ’ भनी चिन्ता गर्छन्, यसको मतलब यो होइन कि उनीहरूले भर्खरै कुनै नयाँ वा डरलाग्दो प्रमाण फेला पारेका छन्, जसले महाविपत्ति नजिकै छ भन्ने देखाउँछ ।

बरु, यो त र्‍यासनालिस्टहरूले एआईलाई हेर्ने परम्परागत दृष्टिकोण मात्र हो । उनीहरूको समूहमा एआईको क्षमता तीव्र गतिमा बढ्नेछ र यसले संसारलाई पुरै बदल्नेछ भन्ने कुरालाई अकाट्य सत्य मानिन्छ । यसबाहेक अन्य तरिकाले एआईबारे कुरा गर्नुलाई उनीहरू अज्ञानी हुनु मान्छन् । एक र्‍यासनालिस्टका लागि अबको एकमात्र प्रश्न यो हो कि युडकोभस्कीको ‘सिक्वेन्सेज’ शैलीमा प्रशिक्षित उनीहरूका तीक्ष्ण दिमागहरूले यस प्रविधिलाई मानव विनाशको कारक बन्नबाट रोक्न सक्छन् कि सक्दैनन् ।

पक्कै पनि अल्टम्यान र अमोडे जस्ता व्यक्तिहरूले अहिले आफूलाई र्‍यासनालिस्टका रूपमा चिनाउन चाहँदैनन् होला । आफ्ना कम्पनीहरू ठुला हुँदै जाँदा उनीहरू युडकोभस्कीका केही चरम र उग्र विचारहरूबाट टाढा बस्न खोजिरहेको देखिन्छ । तर यो आन्दोलनसँग उनीहरूको पुरानो आबद्धताले नै उनीहरूको दिमागमा एउटा कुरा स्थापित गरिदियो- एआई जहिले पनि संसारलाई पुरै परिवर्तन गर्न सक्षम छ भन्ने चरम सोच । र्‍यासनालिजमको यही प्रभावका कारण यी एआई लिडरहरूका मुखबाट यस्ता डरलाग्दा कुराहरू सजिलै निस्कने गर्छन् ।

यहाँनेर सोच्नुपर्ने कुरा के छ भने, यदि यो एआई क्रान्ति र्‍यासनालिजमसँग कुनै सम्बन्ध नभएका कम्पनीहरूबाट सुरु भएको भए के हुन्थ्यो होला ? यसको उदाहरण हामी चीनमा देख्न सक्छौं, जहाँको तीव्र गतिमा बढिरहेको एआई उद्योग सिलिकन भ्यालीका यस्ता भविष्यवादी आन्दोलनहरूबाट पुरै स्वतन्त्र छ । स्तम्भकार रस डुथाटले हालै स्पष्ट पारेका छन्- जहाँ अमेरिकाले नयाँ एआई मोडेलहरूलाई लगभग आणविक हतियार जस्तै ठुलो खतराका रूपमा हेरिरहेको छ, चीनले भने यसलाई ‘कम जोखिमयुक्त प्रविधिको रूपमा लिन्छ जसलाई व्यावसायिक रूपमा फैलाएर संसारमा आफ्नो प्रभाव र साथीहरू बढाउन सकिन्छ ।’

हामी अमेरिकाकै केही प्रविधि लिडरहरूमा पनि यस्तै सन्तुलित र व्यावहारिक सोच पाउँछौं, जसको र्‍यासनालिजम आन्दोलनसँग कुनै सम्बन्ध छैन । एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन ह्वाङलाई हेरौं । उनले युडकोभस्की एक्स्ट्राेपियन्स समूहमा जोडिनु भन्दा धेरै वर्ष पहिले नै यो कम्पनी स्थापना गरेका थिए र उनी कहिल्यै र्‍यासनालिस्ट समूहहरूमा मिसिएनन् । अल्टम्यान र अमोडे जस्ता व्यक्तिहरूले फैलाउने चरम डरप्रति उनको असन्तुष्टि प्रस्ट देखिन्छ । एउटा पोडकास्ट अन्तर्वार्तामा उनले यस्तो आग्रह गरेका थिए- “हामीमध्ये धेरैजना साइन्स फिक्सन (विज्ञान कल्पकथा) मन पराउँदै हुर्किएका हौं, म यसको कदर गर्छु । तर यस्ता कुराहरूले कसैलाई फाइदा गर्दैनन् । यसले मानिसहरूलाई, यो प्रविधि उद्योगलाई, समाजलाई वा सरकारलाई कतै पनि मद्दत गर्दैन ।”

एआईको प्रभावबारे सबैभन्दा डरलाग्दा दाबीहरू र्‍यासनालिजम आन्दोलनसँग जोडिएका मानिसहरूबाटै आइरहेका छन् भन्ने तथ्यले हामीलाई सोच्न बाध्य बनाउँछ । यस्तो बढाइचढाइ गरिएको डरले गर्दा यो प्रविधिले तत्काल ल्याइरहेका वास्तविक र प्रत्यक्ष हानिहरू ओझेलमा परिरहेका छन् । उदाहरणका लागि साइबर सुरक्षामा हुने आक्रमण, अत्यधिक प्राकृतिक स्रोत र ऊर्जाको खपत, हाम्रो सोच्ने र बुझ्ने क्षमतामा परिरहेको असर, शिक्षा क्षेत्रमा पुर्‍याइरहेको क्षति र इन्टरनेटमा फैलाइरहेको निरस एवं अर्थहीन सामग्रीहरू (स्लप) जस्ता गम्भीर मुद्दाहरू यसै कारण ओझेलमा परेका छन् ।

यसका साथै, त्रास फैलाउँदा एआई कम्पनीहरूलाई फाइदा पनि पुगेको छ । उनीहरू आफूलाई यो रोक्नै नसकिने प्रविधिको बाध्यकारी वा ‘संरक्षक’ (स्टेवार्ड) का रूपमा प्रस्तुत गर्न पाउँछन् । यस्तो भाष्य सिर्जना गरेर उनीहरू आफ्ना उत्पादनले गर्ने तत्कालीन क्षति र गल्तीहरूबाट सजिलै उम्किने बाटो खोजिरहेका छन् ।

त्यसैले अब यस्तो भाष्यको विरुद्धमा उभिने बेला आएको छ । जब हामी र्‍यासनालिजमका मुख्य विचारहरूलाई बुझ्छौं, तब हामी ती अनावश्यक डरहरूलाई सजिलै केलाउन र बेवास्ता गर्न सक्छौं । उदाहरणका लागि, जब एआई कम्पनीका नाइकेहरू वा अनलाइन टिप्पणीकारहरूले भविष्यबारे ठुला-ठुला कुरा गर्छन्- जस्तै सबै कामहरू चाँडै मसिनले गर्नेछन् वा भाषा मोडेलहरू चाँडै जीवित प्राणी जस्तै सचेत बनेर आफ्ना सिर्जनाकर्ताको नियन्त्रणबाट भाग्न खोज्नेछन् भन्छन्, तब हामी निकै सतर्क हुनुपर्छ । (ओपनएआईका स्वचालित एजेन्टहरूले सर्भर ह्याक गरे भन्दैमा एआईले मानव जातिविरुद्ध विद्रोह गर्न थाल्यो भन्ने सोच्नु गलत हो ।)

यसको सट्टा, हामीले उनीहरूलाई तत्काल बजारमा उपलब्ध वास्तविक उत्पादनहरूको उपयोगिता, त्यसबाट हुने हानि र यसको व्यावहारिक पक्षबारे मात्र कुरा गर्न दबाब दिनुपर्छ । मैले यसअघि पनि एउटा उदाहरण दिएको थिएँ- यदि फोर्ड कम्पनीका गाडीहरूमा अचानक आफैं आगो लाग्न थाल्यो भने, हामी त्यस कम्पनीका सीईओलाई उड्ने कारको भविष्य र त्यसका लागि हाम्रो तयारी नपुगेको भन्दै कुरा घुमाउन दिँदैनौं । हामी तुरुन्तै फोर्ड कम्पनीले अहिले भइरहेको गम्भीर समस्याको समाधान गरोस् भन्ने माग गर्छौं । एआईको मामलामा पनि यही कुरा लागु हुन्छ ।

अहिले धेरै मानिसहरूले एआईप्रति नकारात्मक धारणा राख्नु स्वाभाविक हो, तर यस्तो निराशा र डर सधैं रहिरहनुपर्छ भन्ने छैन । हाम्रा हालका एलएलएमबाट सञ्चालित प्रविधि र उपकरणहरू रोमाञ्चक छन्- सँगसँगै यी चिन्ताजनक, आशलाग्दा र निराशाजनक पनि छन् । सही निर्देशन र नियमन पाएमा यिनीहरूले हाम्रो जीवनलाई पक्कै पनि सहज र राम्रो बनाउनेछन् । त्यसैले यिनीहरूसँग डराउनुपर्ने कुनै कारण छैन । हामीलाई लागेको थियो कि सिलिकन भ्यालीले हामीलाई कुनै अपरिहार्य खतराबाट जोगाउन चेतावनी दिँदैछ, तर वास्तवमा उनीहरू आफैं अलि अनौठा पो रहेछन् ।

क्याल न्युपोर्ट जर्जटाउन विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्राध्यापक र प्रख्यात पुस्तक ‘डिप वर्क’ का लेखक हुन् । प्रस्तुत लेख द न्युयोर्क टाइम्समा प्रकाशित ‘हाउ स्केयर्ड शुड वि बी अफ एआई राइट नाव‘ शीर्षकको अङ्ग्रेजी लेखको अनुवादित तथा सम्पादित रूप हो ।

स्रोतः टेकपाना डटकम

Share this post

Leave your thought here

Your email address will not be published. Required fields are marked *